खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा निःशुल्क आयुर्वेद तथा प्राकृतिक चिकित्सा शिविर सम्पन्नभएको छ ।
ईन्द्रसरोवर गाउँपालिका र सगुन संस्थाको आयोजना तथा पार्टिसिपेड संस्थाको सहयोगमा गत असोज २८ गतेदेखि पालिकाको वडा नं. ३ बाट सुरुभएको शिविर शनिबार वडा नं. २ को कुलेखानीमा गरी पाँच वटै वडामा सम्पन्नभएको हो ।
शिविरमा स्त्रीरोग, शल्यक्रिया, थेरापीलगायतका सेवासँगै निःशुल्क रुपमा आवश्यक औषधी वितरण गरिएको थियो ।
वडा नं. १ को मार्खुमा भएको शिविरमा १४० जनाले स्वास्थ्य जाँच गरी लाभ लिएको वडाध्यक्ष सुवास थापा मगरले जानकारी दिनुभयो । उहाँले नागरिकले घरदैलोमा नै स्वास्थ्य सेवा सहज रुपमा पाएको बताउनुभयो ।
यस्तै वडा नं. ५ मा २३९ जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गराउनेमा धेरैजसो महिलामा विभिन्न स्त्रीरोगको समस्या पाइएको वडाध्यक्ष दुतराज तितुङले बताउनुभयो । उहाँले शिविर सञ्चालनले सामान्य स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेकाहरु लाभान्वित बनेको बताउनुभयो ।




