कर अधिकृत र ठेकेदारविरुद्ध मुद्दा

लोकप्रिय

काठमाडौँ, कात्तिक २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध मुद्दा दर्ता भएको छ ।

आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानुनी लाभ उठाएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त कार्यबाट नेपाल सरकारलाई एक करोड २३ लाख ६९ हजार ६४९।६९ बराबरको हानी भएको देखिएको र सोही रकम बराबर जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार, जिल्ला मोरङको सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार १५१।५० (भ्याट बाहेक) रकममा ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का वापत बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रु. १ करोड २३ लाख ६९ हजार ६४९।६९ आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका क्रममा कर अधिकृत आले र निर्माण कम्पनीका प्रबन्ध निर्देशक बस्नेतबिच मिलेमतो गरी झुटा लिखत बनाई राजस्व छली गरिएको र नेपाल सरकारलाई हानी पुर्‍याइएको प्रमाण भेटिएको आयोगले जनाएको छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

ताजा समाचार

Related Articles