मकवानपुरमा करिब १४ हजारले गरे नयाँ मतदाताका लागि नामावली दर्ता

लोकप्रिय

हेटौँडा, मङ्सिर ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय सकिएको छ ।
उक्त निर्वाचन प्रयोजनाका लागि मकवानपुरमा करिब १४ हजार जनाले नयाँ मतदाताका लागि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा थपिएका नयाँ मतदातामा अधिकांश युवा पुस्ताका रहेका छन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी मिति तोकेपछि गत असोज १० गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको हो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म रहेकोमा प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो ।
प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले गत असोज १० गतेदेखि शुक्रबारसम्ममा मकवानपुरमा भौतिक उपस्थिति भएर (वायोमेट्रिक मार्फत) उक्त अवधिमा मकवानपुरमा छ हजार ९७० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अवधिमा राष्ट्रिय परिचयपत्र मार्फत बिहीबारसम्ममा छ हजार ८६० जनाले नयाँ मतदाताका लागि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उहाँले आइतबार राष्ट्रिय परिचयपत्र मार्फत शुक्रबारसम्म नयाँ मतदाताका लागि मतदाता नामावलीमा शुक्रबारसम्म नाम दर्ता गराएका सबैको विवरण प्राप्त हुने भएकोले मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्ने बताउनुभयो ।
वायोमेट्रिक मार्फत गत असोज १० गतेदेखि ३१ गतेसम्म ५०६ महिलासहित एक हजार २७० जनाले र कात्तिक महिनाभर दुई हजार ९९ महिलासहित चार हजार ९४३ जनाले नयाँ मतदाताका लागि मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै मङ्सिर महिनामा थप गरिएको पाँच दिनको अवधिमा निर्वाचन कार्यालयमा उपस्थित भएर वायोमेट्रिक मार्फत महिला ३४८ सहित ७५७ जनाले मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएको तथ्याङ्क छ ।
उहाँका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्न युवा पुस्ताको उत्साह देखिएको थियो ।
यसैबिच मकवानपुरमा मतदान स्थलको नाम संशोधन र परिवर्तनका लागि जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफारिश गरी पठाइएको छ ।
मकवानपुर जिल्लामा १६७ मतदान स्थल रहेका छन् ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस मकवानपुर जिल्लामा गत असोज मसान्तमा सार्वजनिक मतदाता नामावली अनुसार तीन लाख दुई हजार २४३ मतदाता थिए ।

ताजा समाचार

Related Articles