काठमाडौँ, पुस १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको उच्चस्तरीय वार्ताले चुनावमा जाने निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै तथा सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “एमालेका अध्यक्ष ओलीले स्पष्ट रूपमा एमाले चुनावमा जान तयार छ, तर सरकारले वातावरण बनाओस् भन्नुभएको छ । काँग्रेस सभापति देउवाले पनि अब संसद् पुनः स्थापना नभई निर्वाचनमा जाने कुरालाई स्पष्टसँग भन्नुभएको छ ।” आजको बैठकपछि चुनाव हुन्छ कि हुन्न भन्ने दुबिधा र चुनावमा राजनीतिक दलले भाग लिन्छन् कि लिँदैनन् भन्ने शङ्का पनि टरेको उहाँको भनाइ थियो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले पनि तोकिएको मिति फागुन २१ मै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संयोजक दाहालले निर्वाचनको लागि आफ्नो पार्टी तयार रहेको मात्रै नभई एमालेका अध्यक्ष ओलीलाई निर्वाचनका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ, उहाँले सरकारले गरेको कामको पनि प्रशंसा गर्नुभएको छ ।” सभापति देउवाले बैठकमा काँग्रेसको अबको एजेन्डा संसद् पुनः स्थापना नभई चुनाव भएको उल्लेख गर्दै चुनावका लागि तयार हुन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको पनि मन्त्री खरेलले जानकारी दिनुभयो । बैठकमा फागुन २१ गते हुने निर्वाचनको समयमा मौसमले साथ नदिएको खण्डमा के गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।

उहाँले भन्नुभयो, “फागुनमा हिउँ पर्न सक्ने वा तपाईँमा हुने पर्वका कुरा पनि उठेका छन्, तर प्रधानमन्त्रीज्यूले सरकारले फागुन २१ मै निर्वाचन गर्ने म्यान्डेड छ भनेर कुरा राख्दा उहाँहरूले त्यसमा अरू कुरा गर्नुभएको छैन । सरकारको लक्ष्य चुनाव गराउने हो, यो भन्दै गर्दा भ्रष्टाचार र सुशासनका कुरा पनि सँगसँगै छ ।” मन्त्री खरेलले फागुन २१ गते चुनाव सम्पन्न गर्ने लक्ष्यसहित त्यसमा आइपर्ने चुनौती र समस्याबारे प्रष्ट पार्दै अगाडि बढ्ने सरकारको योजना रहेको पनि सुनाउनुभयो ।




