काठमाडौँ, माघ २ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ८८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था आनुसार ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

यसैबीच, निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर आजै बन्दसूचीको नामावली प्रकाशित गरेको छ । प्रकाशित नाममा दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय तोकिएको छ । सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ । निर्वाचन आयोगले माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुनेछन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।




