खासकुरा संवाददाता
हेटौँडा, माघ १३ गते । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी सदिक्षा गुरुङ प्रथम हुनुभएको छ ।
सोमबार भएको प्रतियोगितामा उहाँ सामाजिक सञ्जाल अवसरकी चुनौती विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम हुँदै नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारुमगर द्वितीय हुँदै नगद सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

कालिका माविका कृष मोक्तान तृतीय हुनुभयो । मुक्तानले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगितामा नौ जनाको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष एंव गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाक कलाको विकासका सहयोग पुग्ने बताउनुभयो ।

उपाध्यक्ष बालकुमार मल्लले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग बराबरको अवस्था रहेको भन्दै सदुपयोगले विकास हुन्छ दुरुपयोगले विनास हुने धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगिताको शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।




