हेटौँडा, माघ १६ गते । रेडियो मकवानपुरको १६ औंँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान गरिएको छ । रेडियोको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रेडियो मकवानपुरकै प्राङ्गण हेटौँडा २ स्थित पल्पसाहल रोडमा रक्तदानको आयोजना गरिएको हो । रक्त सञ्चार केन्द्र हेटौँडासँगको सहकार्यमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पण सुवेदी, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाइँ, रक्त सञ्चार केन्द्रका विष्णु रिमाललगायतको उपस्थिति थियो । रक्तदान जीवन दान भन्ने नारासहित पवित्र कार्यबाट सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको रेडियो सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले बताउनभयो । १७ गते शनिबार हेटौँडा १८ हर्नामाडीमा रहेको श्री वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न वितरण, १८ गते महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहलाई सेनेटरी प्याड सहयोग, १९ गते रेडियोमै निर्वाचन आचारसंहितासम्बन्धी अन्तर संवाद, २० गते मिडिया कप फुटसल प्रतियोगिता र २२ गते सप्ताहव्यापी कार्यक्रमको समापन हुनेछ ।

सप्ताहव्यापी कार्यक्रमको समापनमा मकवानपुरका दुई जनालाई जनही नगद १० हजार रुपियाँसहित सामुदायिक सम्मान प्रदान गरिनेछ । यस्तै रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्म्मान प्रदान गर्दै आएको छ । २०६६ साल माघ १६ गते सहिद दिवसका दिनबाट रेडियो मकवानपुरले नियमित प्रशारण सुरु गरेको थियो ।




