लेखनाथ, फागुन ८ गते । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औं दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष जोड्नुपर्ने विचार राख्नुभएको हो । समारोहमा छ हजार छ सय २२ विद्यार्थी दीक्षित भएका छन् । उहाँले भन्नुभयो, “आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जान्छ ।” प्रधानमन्त्री कार्कीले दीक्षित हुनुलाई शैक्षिक यात्राको समापन नठानी जीवनको नयाँ र महत्त्वपूर्ण प्रस्थानविन्दुका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले आर्जित ज्ञान, सीप र अनुभव मुलुकको समृद्धि र विकासमा लगाउनसमेत अनुरोध गर्नुभयो । विश्वविद्यालयकी कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले युवाहरू राजनेता, प्रशासक, नीति निर्माता र समाज रूपान्तरणका अभियन्तासमेत भएको उल्लेख गर्नुभयो ।

दीक्षान्त समारोहमा लैङ्गिक समानता, महिला अधिकार तथा नीति निर्माणका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी चाँदनी जोशी प्रमुख अतिथि हुनुहुन्छ । उहाँले दीक्षान्त विद्यार्थीको जीवनको ऐतिहासिक मोड भएको बताउनुभयो । उहाँले यसलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नलिई सामूहिक आशाको क्षण पनि भएको विचार राख्नुभयो । समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. वेदराज जोशी, रजिष्ट्रार सहप्राडा. अजय थापाले पनि बोल्नुभएको थियो । पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम वि.सं. २०५४ सालमा स्थापना भएको यस विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालयहरूमा स्नातक तहका ३४ वटा, स्नातकोत्तर तहका ३३ वटा, एमफिल तहका दुई वटा तथा विद्यावारिधि तहका पाँच वटा गरी ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

यी कार्यक्रममा हाल विश्वविद्यालयमा ३७ हजार पाँच सय ९३ विद्यार्थी अध्ययनरत छन् । मधेश र कर्णालीबाहेक पाँच प्रदेशमा ६६ शैक्षिक संस्था छन् । यसअघि २० वटा दीक्षान्त समारोहमा विभिन्न सङ्काय अन्तर्गत ७१ हजार दुई सय २९ जना विद्यार्थीले उपाधि प्राप्त गरिसकेका छन् । विश्वविद्यालयले खुदी ढुङ्गेपाटनमा एक सय शय्यासहित आधुनिक सुविधायुक्त शिक्षण अस्पताल स्थापना गरी शैक्षिक वर्ष २०७८-७९ बाट सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयले चाँडै १३ वटा नयाँ कार्यक्रम सुरु गर्ने जनाएको छ ।




