हेटौँडा, फागुन १८ गते । नेपाली कांग्रेस बागमती प्रदेश समितिले अव्यवस्थित बसोबासीको व्यवस्थापनदेखि विधिको शासन स्थापना गर्नेसम्मको प्रतिबद्धता जनाएको छ ।
कांग्रेस बागमती प्रदेशले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेका प्रतिबद्धतामा राज्यका निकाय र सार्वजनिक संस्थाहरूमा हुने राजनीतिक भागबन्डा र दलीयकरणलाई पूर्ण रुपमा निषेध गर्दै भ्रष्टाचारको समूल अन्त्य र विधिको शासन स्थापना गर्ने प्रतिज्ञा गरिएको छ ।
बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले अपिल जारी गर्दै प्रक्रियामा मात्र अल्झिने प्रशासनलाई सुधार गरी शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रत्यक्ष परिणाम देखिने गरी डेलिभरी दिने लक्ष्य कांग्रेसले राखेको बताउनुभयो ।

उहाँले देशमै उत्पादन र रोजगारी सृजनाकालागि लगानी मैत्री कानून, लगानीमैत्री करप्रणाली विकास, लगानीको सुरक्षा तथा स्वरोजगार बनाउन युवाहरुलाई डिजिटल पौरखमा प्रोत्साहन गरी डिग्रीसँगै सीप र पढाईसँगै कमाई गर्नसक्ने बनाउन आवश्यक नीति नियमको निर्माण गरी नेपालमै संभव छ भन्ने वातावरण विकास गर्दै सम्मुनत नेपाल बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको बताउनुभयो ।
निःशुल्क स्वास्थ्य सेवाका लागि सबैलाई बीमा र सबै उपचार बीमाबाट हुने बनाउने अभियानमा कांग्रेस क्रियाशील छ अपिलमा भनिएको छ, सवल सहकारी, सहकारीमार्फत आर्थिक सशक्तिकरण र समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गराउने विषय कांग्रेस पूरा गरेर देखाउन चाहन्छ ।

सहरको सुविधा गाउँमै आमजनाताको सुरक्षित यात्राका लागि सुरक्षित सडकको विकास, आयोजनाको ठेक्का प्रणाली सुधार गरी प्रभावकारी आयोजना कार्यान्वयन, नेपालको प्रचुर सम्भावना बोकेको उर्जा केवल उज्यालोका लागि मात्रै हैन आर्थिक उपार्जन र जनतालाई शेयरबाट स्वरोजगार बनाउन सकिने अवधारणालाई पूरा गर्न कांग्रेस मार्गचित्रसहित निर्वाचनमा आएको अपिलमा उल्लेख छ ।
यस्तै जनताको भान्सालाई मंहगीबाट राहत प्रदान गर्न, किसानलाई उत्पादनमा प्रोत्साहन गर्न मल, बीउको सुलभ उपलब्धता तथा उत्पादनको उचित बजार मूल्य प्रदान गर्न र उपभोक्तालाई किसानले पाउने मूल्यमा नै ताजा र स्वस्थकर नेपाली उत्पादन भान्सामा पु¥याउने प्रष्ट योजना कांग्रेसले बनाएको छ ।
भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको उचित ब्यवस्थापन गर्न कांग्रेस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै “राजनीति पेशा होइन, सेवा हो” भन्ने मान्यतासहित सुशासन, समावेशिता र आर्थिक रूपान्तरणप्रति प्रतिबद्धता जनाइएको छ ।
सभापति बानियाँले राजनीतिक अस्थिरताका बीच निराशाको भूमरीबाट देशलाई बाहिर निकाल्न दृढ, दूरदर्शी र जवाफदेही पार्टी र नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि कांग्रेसको नेतृत्वबाट मात्र सम्भव रहेको बताउनुभयो ।
“राजनीति पेशा होइन, सेवा हो” भन्ने मान्यतासहित सुशासन, समावेशिता र आर्थिक रूपान्तरणप्रति प्रतिबद्ध रहि गरिबमुखी, आयमुखी, न्यायमुखी, सेवामुखी, जनमुखी र विकासमुखी कार्यक्रमहरु कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध र क्रियाशील रहेने उहाँले बताउनुभयो ।




