नेकपाका उम्मेदवार विष्टको प्रतिबद्धता सार्वजनिक

लोकप्रिय

हेटौँडा, फागुन १८ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लवशेर विष्टले प्रस्तावित चित्लाङ–चन्द्रगिरी सुरुङ मार्ग निर्माणका लागि संसदमा प्राथमिकतामा साथ आवाज उठाउने बताउनुभएको छ ।
निर्वाचनको प्रचार प्रसारको अन्तिमदिन सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो क्षेत्रको भौतिक पूर्वाधार विकास तर्फ चित्लाङ चन्द्रगिरी सुरुङ् मार्ग निर्माणका लागि लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले मकवानपुर निर्वाचन क्षेत्र २ भित्र अत्यावश्यक ठाउँमा पुल तथा सार्वजनिक भवनहरू निर्माण, क्षेत्रीय सडक सञ्जाललाई स्तरीकरण गर्दै राष्ट्रिय राजमार्गमा जोड्न पहल गर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासतर्फ निर्वाचन क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बद्र्धनसँगै नयाँ पर्यटकीय क्षेत्रको पहिचान एवं प्रवद्र्धनमा विशेष जोड दिईने छ उहाँले भन्नुभयो, खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन र खेलकुदका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने छ ।
गाँजालाई कानुन संशोधन मार्फत आयआर्जनको श्रोतको रुपमा विकास गर्ने प्रतिवद्धतापत्रमा समेटिएको छ ।
भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यालाई समाधानको लागि विधमान कानुनलाई परिमार्जन गर्दै जनतालाई जग्गाधनी लालपुर्जा वितरणमा पूर्णतया जनताको जनप्रतिनिधि भएर उभिने र काम गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

नदी तटीयक्षेत्रको बस्ती संरक्षण र सुरक्षित मानव बस्तीको विकासमा विशेष पहल गरिनुका साथै एकीकृत बस्तीको अवधारणालाई अगाडि बढाईने प्रतिवद्धता गरिएको छ ।
उम्मेदवार विष्टले मानव र जङ्गली जीवजन्तु बिचको द्वन्द्व न्यूनीकरणको लागि विद्युतीय झट्का÷कङ्क्रिट वालको व्यवस्थापन, कृषि बाली तथा पीडित परिवारलाई न्यायोचित क्षतिपूर्तिमा वितरण गर्ने भन्दै गुणस्तरीय एवं सर्वसुलभ शिक्षामा आमजनताको पहुँच स्थापना गर्न पहल गरिने बताउनुभयो ।
यस्तै कृषिक्षेत्रको विकासतर्फ खेतीयोग्य जमिनलाई पूर्णतः सिंचाइ सुविधा, कृषिमा आधुनिकीकरण सहित भौगोलिक क्षेत्र विशेष उत्पादन क्षेत्रको विकास र कृषिलाई प्रमुख आर्थिक श्रोतको रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
उहाँले स्वास्थ्यक्षेत्रको विकासतर्फ स्वास्थ्य सेवालाई जनतामा सहज पहुँच र छरितो बनाउन अस्पतालहरूमा आवश्यक जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिईने बताउनुभयो ।

ताजा समाचार

Related Articles