काठमाडौँ, चैत १६ गते । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

बैठकले संविधान संशोधन बहसपत्र तयार गर्नका लागि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी समेत दिनुभयो । “संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधित्वसहित कार्यदल गठन गर्ने निर्णय भएको छ ।राष्ट्रिय सहमतिमा संशोधन बहसपत्र तयार हुन्छ”, मन्त्री पोखरेलले भन्नुभयो ।

यस्तै, पत्रकारहरूको जिज्ञासामा प्रवक्ता पोखरेलले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताउनुभयो । मन्त्री पोखरेलले भदौ २४ गतेको घटनामा संलग्नहरू धेरै पक्राउ परिसकेको र २३ गतेको घटनाको कोही पनि पक्राउ नपरेको अवस्थामा सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गरेको बताउनुभयो ।

मन्त्री पोखरेलले २४ गतेको घटनाको जाँचबुझ गर्न छुट्टै समिति बनाउने विषयमा कानुनी परामर्श भइरहेको पनि मन्त्री पोखरेलले बताउनुभयो । यस्तै सरकारले ब्रिज कोर्स नगर्न जारी सूचनाको बारेमा मन्त्री पोखरेलले तत्कालका लागि एसइई दिने विद्र्यार्थीहरुलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्न भन्दै लिइने कोर्सहरू रोक्ने निर्णय भएको स्पष्ट पार्नुभयो ।




