चेपाङ बाहुल्य वडालाई समेटेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव

लोकप्रिय

हेटौँडा, वैशाख ८ गते । नेपाल चेपाङ सङ्घले चेपाङ बाहुल्य रहेको चितवन जिल्लाका दुई स्थानीय तहका वडाहरुलाई मिलाएर छुट्टै पालिका बनाउन माग गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका तथा गाउँपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनका लागि राय—सुझाव माग गरेसँगै चेपाङ सङ्घले चेपाङ बाहुल्य रहेको वडाहरुलाई समेटेर झोरालाङ गाउँपालिका बनाउन सुझावसहित माग गरेको हो ।
संविधान सभाका सदस्य एवं चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले चितवन जिल्लाको राप्ती नगरपालिकाको वडा नम्बर १०,११,१२ र १३ तथा कालिका नगरपालिकाको वडा नम्बर १० र ११ लाई समायोजन गरेर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेको जानकारी दिनुभयो ।

उहाँले २०७४ सालअघि केन्द्रीय स्तरमा नामाङ्कन तथा सिमाङ्कन गर्न गठित सुझाव समितिलाई मकवानपुरको राक्सिराङ गाउँपालिका धादिङको रोराङ गाउँपालिका र चितवनको झोरालाङ गाउँपालिका बनाउन चेपाङ समुदायको माग अनुसार धादिङको रोराङ र मकवानपुरको राक्सिराङ कायम भएको बताउनुभयो ।
उहाँले झोरालाङ गाउँपालिका माग गर्दै त्यतिबेला चेपाङ समुदाय आन्दोलनमा उत्रिएकोसमेत सुनाउनुभयो ।
सङ्घले चितवनको चेपाङ बाहुल्य रहेको साविक कोराक, लोथर र सिद्धि गाविसलाई झोरालाङ गाउँपालिका बनाउन प्रस्तावसहित सुझाव समितिसँग माग गरेको थियो । त्यतिबेला चितवनको झोरालाङ गाउँपालिका बनाउने सन्दर्भमा राजनीति सहमति जुट्न सकेन उहाँले भन्नुभयो, सरकारले पुनः प्रस्ताव गर्न भनेको छ चितवनको दुई नगरपालिकाका छ वटा वडालाई मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेका छौ ।
झोरालाङको अर्थ चेपाङ भाषामा नमस्कार, अभिवादन हो ।
अध्यक्ष गोविन्दरामले चेपाङ बाहुल्य रहेको चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ र कालिका नगरपालिकाको वडा नम्बर १० र ११ वडा अझै विकासका दृष्टिले पछाडि पारिएको भन्दै चेपाङ समुदायको स्वास्थ्य, शिक्षालगायतमा पहुँच पुग्न नसकेकोले छुट्टै पालिका प्रस्ताव गरिएको बताउनुभयो ।
झोरालाङ गाउँपालिका बनाउने प्रस्ताव कार्यान्वयन नहुने हो भने धादिङ, मकवानपुर र चितवनाका चेपाङ बाहुल्य वडाहरुलाई समेटेर संरक्षित क्षेत्र सरकारले घोषण गर्नुपर्ने उहाँको भनाई छ ।
बागमती प्रदेश सरकारसमक्ष चेपाङ बाहुल्यता रहेको चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०,११,१२ र १३, कालिका नगरपालिकाकोवडा नम्बर १० र ११, धादिङको रोराङ गाउँपालिकाको ८,९ र १० का साथै मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग गरिने भएको छ ।
संविधान धारा ५६ को ५ लाई आधार बनाएर सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले झोरालाङ गाउँपालिकाको प्रस्तावमा सुझावसहित सहयोग गर्न राजनीति दलहरु सङ्घीय सांसद, प्रदेश सभा सदस्य, सीमा विद्, नागरिक समाज, चेपाङ समुदायलगायतसमक्ष आग्रह गर्नुभएको छ ।
मन्त्रालयले नगरपालिका तथा गाउँपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्डको नयाँ मस्यौदासमेत बनाएको छ ।

उता राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिका अब कतै गासिन छुट्टिन नहुने बताउनुभएको छ ।
उहाँले २० वर्षपछि राक्सिराङ कस्तो हुने खाकासहित बाटो, बत्ती, भवन, संस्कृति, धर्मिक, जातीय पहिचानको रुप तयार गरिएको बताउनुभयो । साविक काँकडा गाविसको वडाको सीमामात्र मिलाउन आवश्यक रहेको उहाँको भनाई छ ।

ताजा समाचार

Related Articles