जनकपुरधाम, वैशाख २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अगामी ज्येष्ठ १ शुक्रवार विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले ज्येष्ठ १ गते विश्वासको मत लिने गरि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभाको सातौं अधिवेशनका लागि बैठक आह्वानका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पत्र आएको मधेश प्रदेशका प्रदेश प्रमुखको कार्यालयका सचिव नारायण प्रसाद दहालले जानकारी दिनुभयो । उहाँले प्रदेश प्रमुखको कार्यालयले आजै प्रदेश सभाको बैठक आह्वान गर्ने जानकारी दिनुभयो । पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनतम पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनु पर्ने संवैधानिक प्रावधान अनुसार ज्येष्ठ १ गते विश्वासको मत लिन लाग्नुभएको छ ।

मधेश प्रदेश सभामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रीपरिषद्को बैठकले ज्येष्ठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ । मधेश प्रदेश सभामा नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना प्रदेश सभा सदस्य रहेका छन् । चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिएको छ ।




