काठमाडौँ, वैशाख ३१ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सांसदहरूबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम उपर सांसदले उठाउनुभएको चासो, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै सांसदहरुले उठाउनुभएका विषयलाई उपलब्ध साधन स्रोतको सीमाभित्र रही प्राथमिकीकरण गरी सम्बोधन गरिने बताउनुभयो ।

उहाँले नेपालको संविधानले दिशानिर्देश गरेको सुशासन, विकास र समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, बाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको पनि बताउनुभयो ।

नागरिकको अपेक्षाअनुरूप सुशासनसहितको समृद्ध नेपालको चाहनालाई आत्मसाथ गरी प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरूबाट प्राप्त सुझाव अत्यन्तै मननयोग्य भएको पनि अर्थमन्त्री वाग्लेको भनाइ थियो । उहाँले आर्थिक रूपान्तरण, सामाजिक न्यायमा आधारित समावेशी राज्य व्यवस्था स्थापनाका लागि नागरिकबाट प्राप्त जनविश्वासलाई कायम राख्न सरकार गठन भएको पहिलो दिनलाई सुशासनको आरम्भको रूपमा लिई गरी शासकीय सुधारका १०० कार्यसूचीको घोषणा गरी हाल कार्यान्वयन भइरहेको उल्लेख गर्दै नागरिकको सरकारप्रतिको भरोसा र विश्वास अभिवृद्धि, सेवा प्रवाहमा सुधार, गुनासो व्यवस्थापन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनुभयो । मन्त्री वाग्लेले कार्यसम्पादनमा आधारित बजेट प्रणालीको कार्यान्वयनसहित ठुला परियोजनामा सरकारले गरेको लगानीको उचित प्रतिफल हासिल गर्न र खर्च प्रभावकारिताको मापन तेस्रो पक्षबाट गराई सरकारी लगानीको लागत प्रभावकारिता सुनिश्चित गरिने पनि बताउनुभयो ।




