मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

लोकप्रिय

काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ताका रूपमा किटान गरेको छ ।

स्थानीय प्रशासनमा दर्ता गरी ७०० देखि ८०० युवाले शान्तिपूर्ण प्रदर्शन गर्ने सहमति गरे पनि सरकारले भीडको आकार तथा परिस्थिति आँकलन गर्न नसकेर फिल्ड तयारी कमजोर राखेको देखिएको प्रतिवेदनमा उल्लेख छ । माइतीघरमा भेला भएका आन्दोलनकारी नयाँ बानेश्वरको निषेधित क्षेत्रतर्फ बढ्दा भीड झन्डै २५ हजार पुगेको थियो । आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार सोही मौका छोपी ‘टिओबी’ छापिएको कालो टि–सर्ट लगाएका र शरीरमा ट्याटु हानेका १५–२० जनाका रहस्यमय बाइकरको समूह भीडभित्र प्रवेश गरी आन्दोलनकारीलाई उत्तेजित बनाउने तथा प्रहरीमाथि आक्रमण सुरु गर्ने काम गरेको प्रतिवेदनमा उल्लेख छ । सुरक्षाफौजले भीडलाई तितरबितर गर्न सामान्य आत्मरक्षा र बल प्रयोगको सिद्धान्तप्रतिकूल संवेदनशील अङ्गहरूः टाउको, छाती र घाँटीलाई निशाना बनाएर ५.५ एमएम र ७.७ एमएमका धातुका घातक गोली चलाएको पाइएको पनि बताइएको छ । यसले आन्दोलन दबाउने राज्यको नियत गम्भीर मानवअधिकारविरोधी प्रकृतिको थियो भन्ने प्रमाणित गर्ने आयोगको ठहर छ ।

भदौ २३ गते संसद् भवन घेर्ने तथा ब्यारिकेड भत्काउने प्रयास हुँदा प्रहरीले चलाएको वास्तविक गोली प्रहारबाट १९ जनाको सोही दिन र उपचारका क्रममा अस्पतालमा थप २३ जना गरी कुल ४२ प्रदर्शनकारीको मृत्यु भएको थियो । सोही क्रममा सुनसरी र झापामा समेत थप ५ प्रदर्शनकारीले ज्यान गुमाएका थिए । २३ गतेको आन्दोलनपश्चात् भदौ २४ गते देशव्यापी कर्फ्यु अवज्ञा गर्दै भव्य विद्रोह भयो । प्रदर्शनकारीहरूले सङ्घीय संसद् भवन (बानेश्वर) लगायतका महत्त्वपूर्ण भवनमा आगजनी गरे । आन्दोलनकारीको आक्रोशमा परेर तीन जना कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका कर्मचारीप्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी हवल्दार (प्रह) अमृत गुरुङ, र प्रहरी जवान उत्तम थापाको कुटीकुटी बीभत्स हत्या गरियो । आन्दोलनकारीले सुरक्षाकर्मीको हतियार र पोसाकसमेत लुटेर हिँडेका थिए, जुन हतियार अहिलेसम्म पनि फेला पर्न सकेका छैनन् । सोही दिन भएको आगजनीमा परी २१ जना सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए ।

ताजा समाचार

Related Articles