मकवानपुर, असार १७ गते । बागमती विश्वविद्यालयले परीक्षा सकिएको एक सातामै परीक्षाफल सार्वजनिक गर्दै नयाँ अभ्यासको थालनी गरेको छ । हेटौँडामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको पहिलो सत्रको नियमित परीक्षा लिएको एक साताभित्रै परीक्षाफल प्रकाशित गरेको हो ।

तीनवटा संकायको पहिलो सेमेस्टरको परीक्षा जेठ २५ गते सुरु भई असार ९ गते सम्पन्न भएको थियो । परीक्षा सकिएको एक साताभित्रै मङ्गलबार नतिजा सार्वजनिक गरिएको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिनुभयो । एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि र शिक्षा तथा सामाजिक विज्ञान संकायमा स्नातक तहको अध्यापन सुरु गरेको विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकायतर्फ बीबीए, विज्ञान तथा प्रविधि संकायतर्फ बीआईटी र शिक्षा तथा सामाजिक विज्ञान संकायतर्फ बीएड विषयको पहिलो पटक परीक्षा लिएको हो ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको विश्वविद्यालयले गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई समेत चुस्त र प्रभावकारी बनाउँदै लैजाने लक्ष्य लिएको छ । तीनवटै संकायको पहिलो सेमेस्टरको सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ३४५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

उपाध्यक्ष सुवेदीका अनुसार विश्वविद्यालयले वार्षिक शैक्षिक कार्यतालिका अनुसार समयमै नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता लिएको छ । यसले विश्वविद्यालयप्रतिको विद्यार्थी तथा अभिभावकको विश्वास वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिलो पटक सञ्चालन गरिएको परीक्षाको नतिजा समयमै सार्वजनिक गरिएको हो । अब परीक्षाफल आउन महिनौँ कुर्नुपर्ने अवस्था आउन दिइने छैन ।” उहाँका अनुसार बुधबारदेखि विद्यार्थीहरूको मार्कसिट वितरण सुरु हुनेछ ।

विश्वविद्यालयअन्तर्गत हाल हेटौँडा क्याम्पस (मकवानपुर), कपन क्याम्पस (काठमाडौँ), जनमैत्री क्याम्पस (काठमाडौँ), भुवनेश्वर क्याम्पस (चितवन), माडी क्याम्पस (चितवन) र चैतन्य क्याम्पस (काभ्रेपलाञ्चोक) आवद्ध रहेका छन् ।

विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न स्नातक तह प्रथम वर्षका कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।




