काठमाडौँ, असार २७ गते। लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार राति आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ।

डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य केही व्यक्ति आफन्तको घरमा गएका छन् भने बाँकी होल्डिङ सेन्टर आसपासका सुरक्षित स्थानमा बसेका छन्।

काठमाडौँका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरू समस्यामा परेका छन्। सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि तीन महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले असन्तुष्टि जनाएका छन्।

शुक्रबार राति करिब १२ः४० बजेदेखि होल्डिङ सेन्टरमा बाढी पस्न थालेको थियो। अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू थप जोखिममा परेका छन्।




