नयाँ दिल्ली, साउन ९ गते । परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी सङ्गठन र विपक्षी दलको लगातारको विरोध प्रदर्शनपछि उहाँको राजीनामा आएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्रिपरिषद्बाट हटाउनुपर्ने मुख्य माग राख्दै आएका थिए।

देशका युवा तथा विद्यार्थीको भावना र न्यायोचित अपेक्षाको सम्मान गर्दै राजीनामा दिएको प्रधानले उल्लेख गर्नुभएको टाइम्स अफ इन्डियाले खबर लेखेको छ । जन्तर मन्तरलगायत देशका विभिन्न भागमा भइरहेको विद्यार्थी आन्दोलनका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै विद्यार्थीको भविष्य कानुनी उल्झनमा नफसोस् र उनीहरूले अध्ययनमा ध्यान केन्द्रित गर्न सकून् भनेर यो निर्णय लिएको उहाँको राजीनामा उल्लेख छ ।




