काठमाडौँ, साउन १६ गते । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् ।
गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।
“ग्यासको अभाव होइन, मागअनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो”, प्रवक्ता ठाकुरले भन्नुभयो, “बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ ।”
निगमले माग अनुसारको ग्यास आयत भइरहेको दाबी गरेपनि उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासा गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ । अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् ।



