मकवानपुर, साउन १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान वज्राचार्यलाई सिफारिश गर्नुभएको छ ।
मुख्यमन्त्री बानियाँले मङ्गलबार नै हाम्रो नेपाली पार्टीका वज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीमा नियुक्तका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मङ्गलबारनै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत डा. र्जुन आचार्यले मन्त्रिपरिषद्को पुनर्गठन, विस्तार एवं कार्यविभाजनको पत्र आएको बताउनुभयो ।
नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।
मुख्यमन्त्री बानियाँको सिफारिसमा शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी रहने गरी मन्त्रीमण्डल पुनर्गठन, विस्तार एवं कार्यविभाजन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरिएको छ ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन सरकारको काम थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन गरिएको बताउनुभएको छ ।




