कैलाश र सिएमसी हस्पिटलबीच सम्झौताः उपचारमा २० प्रतिशत छुट

लोकप्रिय

हेटौँडा, भदौ ६ गते । मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हेटौँडा हस्पिटल लिमिटेडबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ ।
कैलाश गाउँपालिका ३ स्थित बिपी स्मृति कैलाश आधारभूत अस्पतालमा शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतिले स्वास्थ्य सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।
अस्पतालले उपलब्ध गराउने स्वास्थ्य उपचार सेवामा २० प्रतिशत रकम अस्पतालले र फार्मेसीले सात प्रतिशत रकम छुट दिने गरी गाउँपालिका र अस्पतालबिच सम्झौता भएको हो ।
उक्त १० बुँदे सम्झौतापत्रमा कैलाश गाउँपालिकाभित्र बसोबास गर्ने नागरिक र कैलाश गाउँपालिकाका कर्मचारीलाई स्वास्थ्य सेवा दिने उल्लेख छ ।

गाउँपालिकाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य उपचार तथा सेवामा सहजीकरण गरिने भन्दै सम्झौताले विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने बताउनुभयो ।
“कैलाशका नागरिकले आर्थिक अभाव वा भौगोलिक विकटताका कारण गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । सिएमसी हस्पिटलसँगको यो सहकार्यले गाउँपालिकाका नागरिकलाई विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज हुने छ ।” अध्यक्ष मुक्तानले भन्नुभयो ।
उहाँले गाउँपालिकाले १० शय्याको अस्पताल सञ्चालन गर्दै आएको बताउनुभयो ।
हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतिले सम्झौताले नागरिकले सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
चेपाङ तथा तामाङ समुदायको बाहुल्य रहेको कैलाशका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाका लागि हेटौँडा, मनहरीलगायतका सहरमा पुग्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाको बसोबासी भएको परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेश गरेर स्वास्थ्य सेवा लिन सकिने छ ।

यसैबिच गाउँपालिकाको आयोजना र हस्पिटलको प्राविधिक सहयोगमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा ३५० जनाले सेवा लिएका छन् ।
स्वास्थ्य शिविरमा सिएमसी हस्पिटलका बाल रोग, प्रसुति तथा स्त्री रोग, हाडजोर्नी तथा नशा रोग,नाक,कान घाँटी रोग, अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले जानकारी दिनुभयो ।
शिविरमा आँखा परिक्षण, भिडियो एक्सरे, अर्थोपेडिक र सामान्य रोगको परीक्षणसँगै परामर्श र आवश्यक औषधि वितरण गरिएको गौतमले बताउनुभयो ।
सम्झौता पत्र हस्ताक्षर तथा स्वास्थ्य शिविर कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, सिएमसी हस्पिटलका सञ्चालक जेनिशा अधिकारी, गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टीकाराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles