त्रिभुवन राजपथमार्फत इन्धन आपूर्ति

लोकप्रिय

काठमाडौँ, भदौ १५ गते । नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा बाढीले सडक भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सडक अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागेको हो ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने जानकारी दिनुभयो । इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ रहेका छन् । यस मार्गबाट ट्याङ्कर आउने छन् । ग्यासका सिलिन्डर भने साना सवारीसाधनमा पनि आउने हुँदा अरू सडक प्रयोग गरिने छ । जाम काम हुने अन्य बाटोसमेत प्रयोग गरेर इन्धनको आपूर्ति जतिसक्दो सहज गरिने उहाँको भनाइ छ । उहाँले भन्नभयो, “ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउँछौँ ।”

पाइपलाइनबाट माग अनुसार तेल आइहाल्ने हुँदा त्यहाँबाट निजी ढुवानीकर्ता तथा डिलरका २० केएल र १२ केएल क्षमताका साना ट्याङ्कर प्रयोग गरी ल्याउने निगमले जनाएको छ । “इन्धन आपूर्तिको मुख्य ‘ब्याकअप’ अमलेखगन्ज डिपो हो,” साहले भन्नुभयो, “जहाँ पाइपलाइनबाट सिधै तेल आउने भएकाले काठमाडौँमा पेट्रोलियम पदार्थको समस्या हुँदैन ।”

निगम, पेट्रोलियम ढुवानी व्यवसायी र ग्यास उद्योगीबिच आइतबार भएको छलफलमा वैकिल्पक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने निर्णय भएको हो । सामान्य अवस्थामा उपत्यकामा दैनिक सात लाख लिटर डिजेल र पाँच लाख लिटर पेट्रोल खपत हुने गरेकोमा सडक अवरुद्ध हुँदा ठुला गाडी बाहिर जान नपाएपछि डिजेलको माग घट्ने निगमले जनाएको छ ।

यस्तै निगमले चितवन र नवलपरासीमा ग्यास प्लान्ट रहेकाले त्यही रिफिलिङ गरेर उद्योगीलाई सानो ट्रकबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउन निर्देशन दिएको जनाएको छ । उपत्यकाआसपासका क्षेत्रमा ग्यास बिक्रीवितरण गर्दै आएका उद्योगले अब बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीलगायतका जिल्लाका उद्योगसँग समन्वय गरेर आपूर्ति सहज बनाउने छन् ।  नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द्रले धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, काठमाडौँ र काभ्रे जिल्लाका उद्योगले १८ मेट्रिक टन ग्यास जगेडामा राख्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles