कांग्रेसको हेटौँडा उपमहानगर सभापतिमा कोइराला र साङ्गामीको चर्चा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भएसँगै पालिकास्तरका समितिको अधिवेशनको प्रक्रिया सुरु भएको छ ।
१० वटा स्थानीय तह रहेकोमा मकवानपुरमा कांग्रेसको हेटौँडा उपमहानगर समितिको अधिवेसनलाई चासोको रुपमा हेरिएको छ । कांग्रेसको गाउँ तथा नगर अधिवेसन यही भदौ ७ गते बुधबार हुँदै छ ।
कांग्रेसको हेटौँडा उपमहानगर समितिको सभापतिमा दुई जनाको नाम विशेष चर्चामा रहेको छ ।
हेटौँडा उपमहानगरपालिका १६ का रामकृष्ण कोइराला र हेटौँडा ४ का कविन साङ्गामीको उपमहानगर समितिको सभापतिका लागि चर्चामा रहेको हो ।
कोइराला र साङ्गामीले हेटौँडा उपमहानगर अधिवेसनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभयो ।
उता हेटौँडा ६ का रामहरि तिमल्सिनाले पनि नगर सभापतिको उम्मेदवार बन्ने बताउँदै आउनुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेनबाट कोइराला हेटौँडा उपमहानगर समितिको उपसभापति र साङ्गामी प्रतिनिधि सभा क्षेत्र नं. १ को संघीय सचिवमा निर्वाचित हुनुभएको थियो । कोइराला जनप्रतिनिधिसमेत हुनुहुन्छ । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नं. १६ को वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
तिमल्सिना हेटौँडा उपमहानगरपालिका वडा नं. ६ को निवर्तमान सभापति हुनुहुन्छ ।
साङ्गामीले आफ्नो पदीय जिम्मेवारी अनुसार पार्टीलाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै नगर समितिलाई क्रियाशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
उहाँले पार्टीमा लामो समयदेखिको संलग्नतासँगै विभिन्न संघसंस्थाहरुमा रहेर काम गरेको अनुभवाका आधारमा समेत पार्टीलाई नयाँ सोचका साथ अगाडि बढाउने बताउनुभयो ।
यस्तै कोइरालाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा सबैको साथ र सहयोगमा कांग्रेसलाई क्षेत्रभरिका वडामध्ये सर्वाधिक मत कांग्रेसको पक्षमा वडा नम्बर १६ बाट पार्न सफल भएको जिकिर गर्दै भन्नुभयो यस कारण पनि नगर सभापति मेरो उम्मेदवारी स्वाभाविक हो ।
कोइरालाले विगतका अनुभव र जिम्मेवारीबाट प्राप्त सिकाइलाई आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित, गतिशील र जनमुखी बनाउन उपयोग गर्ने संकल्पसहित नगर सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
कांग्रेसका १९ वडाका सभापतिसहित क्षेत्रीय प्रतिनिधिले पाँच जना पदाधिकारी नगर अधिवेशनले निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ । उपसभापति एक महिलासहित दुई जना, सचिव र सहसचिव एक–एक जनाका लागि निर्वाचन हुनेछ । साथै उपमहानगर कार्यसमिति सदस्यहरुमा प्रत्येक वडाबाट महिला र खुल्ला एक–एक जना, युवा एक महिला र दुई जना खुल्ला तथा दलित एक महिला र एक खुल्लाका निर्वाचन हुने व्यवस्था छ ।
कोषाध्यक्ष समितिका सदस्यहरुबाट चयन गर्ने र ११ जना सदस्य समावेशीताका आधारमा उपमहानगर समितिमा मनोनित गर्ने कांग्रेसको विधानले व्यवस्था गरेको छ ।
१९ वडाका सभापतिसहित वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि हेटौँडा उपमहानगर समितिको अधिवेसनका सदस्य हुने छन् र नगर अधिवेशनले नगर कार्यसमितिको गठन गर्ने छ ।
हेटौँडा उपमहानगर अधिवेशनमा छ सय क्षेत्रीय सदस्य सदस्य रहेको छन् । सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि नगर अधिवेशनमा हेटौँडा उपमहानगर १६ का ५१ जना रहेका छन् ।

 

ताजा समाचार

Related Articles