त्रिभुवन राजपथ र हेटौँडा–सिस्नेरी सडक सुचारु

लोकप्रिय

हेटौँडा, असोज ९ गते । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भए पनि हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्ड सुचारु रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती दुवै सडकमा पहिरो खसेको छैन र यातायात सञ्चालनमा रहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्डको अवस्था सामान्य रहेको छ। वर्षाका कारण सडकमा कुनै अवरोध नरहेको उहाँले जानकारी दिनुभयो।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथको मकवानपुरतर्फको सडकखण्ड पनि सुचारु रहेको प्रहरीले जनाएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरवमा सडक माथिबाट पहिरो खसेपछि कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि नै उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यता, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएका छन्। प्रहरीले वर्षा भइरहेका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

ताजा समाचार

Related Articles