काठमाडौँ, असोज १७ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारले भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन्। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनलाई मितव्ययी, अनुशासित र मर्यादित बनाउन उम्मेदवारका लागि थप कडा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका मुद्रित तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न प्रतिबन्ध लगाइएको छ। महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न नपाइने समितिले जनाएको छ।

उम्मेदवारले आफ्ना एजेन्डा तथा उम्मेदवारीसम्बन्धी विवरण भने सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचार गर्न पाउनेछन्। समितिले डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिएको छ।

देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको र मुलुक शोक तथा पुनरोत्थानको कठिन परिस्थितिमा रहेका कारण महाधिवेशनमा तडकभडकपूर्ण प्रचारमा रोक लगाइएको समितिले जनाएको छ।




