पशुपति माविलाई खेलकुद सामग्री प्रदान

लोकप्रिय

हेटौँडा, असोज २४ गते । चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२६ को जेसीज सप्ताह अन्तर्गत मनहरी गाउँपालिका ४ स्थित पशुपतिनाथ माविलाई खेलकुद सामग्री प्रदान गरिएको छ । जेसीजद्वारा विद्यालयलाई फुटबल, भलिबल, ब्याड्मिन्टन लगायतका खेल सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीलाई पढाईसँगै खेलकुदका गतिविधिमा सहयोग पु¥याउने उद्देश्यले खेल सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक सरोज देवकोटाले जानकारी दिनुभयो ।

शाखा अध्यक्ष सुरेश गौतमको अध्यक्षता तथा मनहरी गाउँपालिका ४ नम्बर वडाध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रबहादुर विष्ट, प्रधानाध्यापक सपना लामा, पूर्व प्रधानाध्यापक भानुभक्त आचार्य, निर्माण सामग्री व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपाने, जेसीजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकाललगायतको आतिथ्यता रहेको थियो ।

यस्तै जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत शनिबार बिहान बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मनहरी ४ मसिनेका निमेष केसी प्रथम हुँदै नगद पाँच हजार रुपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । १६ जना प्रतिस्पर्धी रहेका थिए ।

कार्यक्रम संयोजक सुरज कार्कीको संयोजकत्व, शाखा अध्यक्ष गौतमको अध्यक्षता एवं वडाध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष रविन ढकाल, मनहरी गाउँपालिका खेलकुद विकास समिति संयोजक रविन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दुई पाङ्ग्रे सवारीसाधनको दुर्घटना बढ्दो रहेको अवस्थामा बिस्तारै मोटरसाइकल चलाएर पनि पुरस्कार र आफैंलाई जित्न सकिन्छ भन्ने सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको शाखा अध्यक्ष गौतमले बताउनुभयो । जेसीज सप्ताह अन्तर्गत सोमबार फुटबल प्रतियोगिताको समापन हुने मूल कार्यक्रम संयोजक राजु सुवेदीले बताउनुभयो ।

ताजा समाचार

Related Articles