कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

लोकप्रिय

हेटौँडा, असोज २५ गते । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ ।

निर्वाचनको अन्तिम मतगणना अनुसार खुलातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित हुनुभएको हो ।
खुला उपसभापतिमा भण्डारी तीन हजार ७३५ मत र मधु आचार्यले दुई हजार ३४२ मतसहित निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिस्पधिहरु गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरूङले एक हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभयो ।

समावेशी उपसभापतिमा विनोद चौधरी एक हजार ७४५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गर्नुभएको थियो ।
समावेशी उपसभापति पदका अन्य प्रतिस्पर्धी फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरूङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाउनुभएको छ ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल चार हजार १९४ मत र
उदयशमशेर राणा दुई हजार ३३० मतसहित विजयी हुनुभएको छ ।
उहाका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले दुई हजार २५७ मत, गुरूराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ ।

महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ’डिना’ ले दुई हजार ८६४ मत र प्रतिस्पर्धी रीता खनालले ८०४ मत प्राप्त गर्नुभयो ।
यसअघि कांग्रेस सभापतिमा गगन थापा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाएको छ ।
सहमहामन्त्रीको मत गणना जारी छ ।

ताजा समाचार

Related Articles