काठमाडौँ, असोज ३१ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ । बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा उल्लेख गर्नुभएको छ । ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कारलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ । विभिन्न सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्दै उहाँले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारीसमेत दिनुभएको छ । दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उहाँले सबैलाई सत्यको बाटोमा हिँड्न र आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका कारणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक रूपमा खराब प्रवृत्तिको अन्त्य र आत्मिक रूपमा सकारात्मक सोचको विकास हुनुपर्ने सन्देश दिनुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले रोजगारी तथा आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । चाडपर्वका अवसरमा परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको नियति बदल्न सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै उहाँले देशको समृद्धि, नागरिकको सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्त्यमा उहाँले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्नुभएको छ ।




