टाटा सुमो सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता

लोकप्रिय

सिन्धुली, कात्तिक १ गते । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब साढे दुई बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनाको जानकारी पाएपछि रत्नावती र खाङसाङ प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा तीन महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी बिजय श्रेष्ठले जानकारी दिनुभयो । चालकसहित दुई पुरुष, एक महिला र एक बालिकालाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये चालक आशिष बिष्ट बेहोस अवस्थामा रहेका छन्। खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको छ। उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चालकको भनाइअनुसार अझै तीन जना बेपत्ता छन्। घटनास्थलमा खुर्कोटस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएर थप खोज तथा उद्धार कार्य गरिरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ

ताजा समाचार

Related Articles