हेटौँडामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते अवस्थामा फेला

लोकप्रिय

मकवानपुर, कात्तिक ६ गते । हेटौँडा उपमहानगरपालिका ८ मा श्रीमान् मृत अवस्थामा र श्रीमती घाइते अवस्थामा फेला परेको छ ।
स्थानीय शङ्कर कार्कीको झुण्डिएर मृत्यु र निजको श्रीमती चरिमाया घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बिहान १ः४५ बजेको समयमा हेटौँडा ८ भावना मार्गमा बस्ने श्रीमान् ४५।४६ वर्षीय शङ्कर कार्की र श्रीमती ४० वर्षीया चरिमाया कार्की बिच बिबाद भई झगडा भएको र फोन नउठेको चरिमायाको माईती रामेछापबाट शङ्करको दिदी हेटौँडा ९ लामसुरे बस्ने भवानी महतलाई फोन आएपछि भाई बुहारीको घरमा पुगेका थिए ।
घरमा आई हेर्दा घर भित्रबाट चुकुल लगाएको अवस्थामा पाईएपछि शङ्का लागी स्थानीय मार्फत प्रहरीलाई खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट गएको टोलीले स्थानीय र शङ्करको दिदी भिनाजुको रोहबरमा दोस्रो तलामा ढोका फोडी हेर्दा शङ्करलाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । निजको श्रीमती चरिमाया भान्साकोठामा घाइते अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।
प्रहरीका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागि छोराले चितवनतर्फ लगेका छन् । घटना थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
चरिमायाको मुख, टाउको, दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । घटना स्थलमा ढुङ्गाको लोहोरो र ईट्टा रगत लागेको अवस्थामा फेला परेको छ ।
भान्साकोठाको बाहिरबाट चुकुल लगाएको, भान्साकोठा र झुण्डिएको कोठा एउटै घरभित्र छुट्टाछुट्टै कोठा रहेको छ ।

ताजा समाचार

Related Articles