काठमाडौँ, कात्तिक ७ गते । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्राडा. सृजना श्रेष्ठले नेपाललाई पोलियोमुक्त बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व पोलियो दिवस, २०२६ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले नेपालले पोलियो उन्मूलनमा हासिल गरेको उपलब्धि उल्लेखनीय भए पनि त्यसलाई सधैँ कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

विश्वको कुनै पनि ठाउँमा पोलियो भाइरसको सङ्क्रमण रहँदासम्म नेपालमा पनि यो रोग भित्रिने जोखिम रहने उल्लेख गर्दै उहाँले खुला सिमाना र मानिसको आवागमनका कारण निरन्तर सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालको पोलियोमुक्त अवस्था कायम राख्न पाँच प्रमुख प्राथमिकता उल्लेख गर्नुभएको छ ।

पहिलो, नियमित खोप सेवा पु¥याउने, विशेषगरी दुर्गम तथा जोखिममा रहेका क्षेत्र र समुदायका प्रत्येक बालबालिकाले पूर्ण खोप प्राप्त गर्ने सुनिश्चिता गर्नुपर्ने उहाँको भनाइ छ। यसैगरी, पोलियो भाइरसको समयमै पहिचानका लागि अति शीघ्र लुलोपनको निगरानीलाई प्रभावकारी बनाउने, पोलियो भाइरस पहिचान भएको अवस्थामा शीघ्र र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न नियमित निगरानी समीक्षा हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।




