दशौँ राष्ट्रिय खेलकुदको ‘काउन्टडाउन’ सुरु

लोकप्रिय

सुर्खेत, कात्तिक १६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को औपचारिक रूपमा काउन्टडाउन (उल्टी गिनती) सुरु भएको छ। सुर्खेतस्थित अत्याधुनिक कर्णाली प्रदेश रङ्गशालामा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काउन्टडाउन सुरु भएको औपचारिक घोषणा गर्नुभएको हो। आगामी मङ्सिर १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस महाकुम्भ सुरु हुन अब ठीक ३० दिन मात्र बाँकी छ।

तयारी युद्धस्तरमा: मन्त्री पोखरेल
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिन र व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले आफू अहिले सुर्खेतमा रहेको मन्त्री पोखरेलले बताउनुभयो। पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको यस राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र ऐतिहासिक बनाउन उहाँले सबै पक्षसँग आग्रह गर्नुभएको छ।

कर्णाली सरकार युद्धस्तरमा जुटेको छ: मुख्यमन्त्री शाही
प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सरकार युद्धस्तरमा जुटेको कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताउनुभएको छ। प्रतियोगितालाई भव्य रूपमा सफल पार्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ। त्यस्तै, सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा लागिपरेका कारण आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। हाल सङ्घीय खेलकुदमन्त्री पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री शाही तथा सामाजिक विकास मन्त्री मल्ललगायतको उपस्थितिमा विभिन्न तयारी तथा समन्वय बैठकहरू तीव्र पारिएका छन्।

राखेप र प्रदेश परिषद्को आन्तरिक तयारी तीव्र
१० हजार दर्शक क्षमताको अत्याधुनिक कर्णाली प्रदेश रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि आफ्नो तयारीलाई तीव्र बनाएको राखेप सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। यता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोट, बन्द प्रशिक्षण, खेलस्थलको व्यवस्थापन र पूर्वाधार सुधारका कामहरू अघि बढाइएको छ। वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना गरिनुका साथै विभिन्न उपसमितिहरू गठन गरेर तयारीलाई व्यवस्थित बनाइएको छ।

खेलाडीलाई नगद पुरस्कारको व्यवस्था
यस पटक खेलाडीहरूको मनोबल उच्च राख्न र प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारको समेत घोषणा गरिएको छ। जसअनुसार व्यक्तिगत इभेन्टतर्फ स्वर्ण पदक विजेताले २० हजार, रजतले १५ हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै, समूहगत इभेन्टतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य विजेतालाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। ३२ वटै खेल विधामा पदक जित्ने खेलाडीहरूलाई पदकका साथै उक्त नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी कुल ११ वटा टोलीहरूको सहभागिता रहनेछ। विभिन्न ३२ खेल विधामा प्रतिस्पर्धा हुने यस प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालालाई तोकिएको छ। महाकुम्भ सुरु हुन महिना दिन मात्र बाँकी रहँदा देशैभरका खेलाडी र खेलप्रेमीहरूमा अभूतपूर्व उत्साह थपिएको छ।

ताजा समाचार

Related Articles