- मकवानपुरको मनहरीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच कात्तिक १९ गतेदेखि देखि सुरु हुने ।
खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १८ गते । लामो समयदेखि अवरुद्ध रहेको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच तथा प्रमाणीकरण कार्य सुरु हुने भएको छ। नेपाल सरकारबाट हालै जारी भएको भूमि तथा वन ऐनसम्बन्धी अध्यादेशको आधारमा भोलि कात्तिक १९ गतेदेखि वडा नं. ६ र वडा नं. १ बाट यसको सुरुवात गरिने भएको छ। मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले एक अपिल जारी गर्दै यस कार्यलाई सबै वडामा पालो मिलाई अगाडि बढाइने निर्णय भएको जानकारी गराउनुभएको छ।

जग्गा नापजाँच लगायत प्राविधिक तथा प्रशासनिक कार्यमा अनाधिकृत व्यक्तिहरूबाट आर्थिक वा अन्य अवाञ्छित चलखेल हुन सक्ने तर्फ सचेत गराउँदै अध्यक्ष कालाखेतीले सबै सरोकारवाला पक्षहरूलाई चनाखो भई त्यस्तो गैरकानुनी कार्य हुन नदिन र गाउँपालिकाको यस महत्त्वपूर्ण कार्यलाई सफल बनाउन सहयोग पुर्याउन हार्दिक अपिल गर्नुभएको छ।

साथै, यससम्बन्धी कुनै पनि सूचना वा जानकारी आवश्यक परेमा सम्बन्धित वडा वा मनहरी गाउँपालिका कार्यालयका आधिकारिक व्यक्तिहरूसँग सम्पर्क गरी जानकारी लिन समेत सबैमा आग्रह गरिएको छ।




