भीमफेदीमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार तीव्र

लोकप्रिय

हेटौँडा, कात्तिक ३० गते । उज्यालो नेपाल पार्टीले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत सोमबार भीमफेदी गाउँपालिका–२ स्थित पोखरीमा विशेष उज्यालो संवाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संवाद तथा भेलाले भीमफेदी–२, पोखरीमा अध्यक्षमा टसी लामा र सचिवमा सुनिता घिसिङ रहेको पार्टीको ७ सदस्यीय टोल कमिटी गठन गरेको छ ।

नवगठित कमिटीका सदस्यहरूमा सिंहराम गोङ्बा, खेमराज घिसिङ, गणेश मुक्तान, आशाराम मुक्तान र सोमबहादुर घिसिङ रहनुभएको उक्त पार्टीले जनाएको छ ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष असलामीले पार्टीको मूल एजेन्डा र विकासको मार्गचित्र प्रस्तुत गर्दै कुलमान घिसिङको हरित क्रान्तिको अवधारणालाई बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय स्तरमा उपलब्ध जल, जमिन, जंगल, जडीबुटी र खनिजको समुचित सदुपयोग गरी त्यसैको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम नै हरित क्रान्ति भएको उल्लेख गर्दै प्राकृतिक स्रोतको सही परिचालन नै भीमफेदीको मुहार फेर्ने र समृद्धि ल्याउने स्पष्ट मार्गचित्र भएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका भीमफेदी गाउँपालिका कमिटी सल्लाहकार चन्द्र तितुङ, वडा नम्बर २ का संयोजक भीमलाल थोकर, गाउँपालिका कमिटी सचिवालय सदस्य राजीव परियार तथा वडा नम्बर ४ का संयोजक राजीव तामाङलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles