काठमाडौँ, कात्तिक १२ गते ।

प्रतिनिधि सभाको आजको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुभयो ।

यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते मङ्गलवार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भयो ।

प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।
