फ्रिडम, नागस्वती, बगरभाई र किङकम क्वाटर फाइनलमा प्रवेश

लोकप्रिय

हेटौँडा, फागुन २३ गते ।
हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएको छ । हेटौँडा ४ स्थित हुप्रचौर खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २–० शून्य गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको दोस्रो हाफको ४२ औँ मिनेटमा फ्रिडमका तर्फबाट राजकुमार केसीले र ४९ औँ मिनेटमा कृष्ण मालाकारले गोल गर्नुभएको थियो ।
खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित हुनुभयो ।

दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई ३–० शून्य गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । नागस्वतीको तर्फबाट खेलको छैटौँ मिनेटमा र १९ औँ मिनेटमा निमा लामाले दुई गोल र १० औँ मिनेटमा प्रकाश राना मगरले एक गोल गर्नुभयो ।
खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका निमा लामा घोषित हुनुभयो ।
यस्तै तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । खेलको दशौँ मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङ र एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औँ मिनेटमा दिलकुमार कार्कीले गोल गर्नुभएको थियो । निर्धारित समयमा दुवै समुहबाट एक–एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा बगरभाईले ४–३ गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच बगर भाईखलकका खेलाडी हिमाल थापा घोषित हुनुभयो ।

यस्तै चौथो खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका रहे पनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । प्रतियोगितामा शनिबार चार क्वाटर फाइनलका खेलहरू हुने प्रतियोगीताका संयोजक मणिराज गौतमले बताउनुभयो । शनिबार पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबिसी भेट्रान्स बिच, दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउँसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउँसो ३ बजे र चौथो खेल आयोजक हेटौँडा भेट्रान्स र बौद्ध भेट्रान्स बिच हुनेछ ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५५५ र दोस्रो हुने समूहले ७५ हजार ५५५ रुपियाँ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डरलाई जनही पाँच हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार रहेको छ ।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा यही २६ गतेसम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि उमेर समूहका खेलाडीको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles