हेटौँडा, चैत २० गते। बागमती प्रदेश सभाको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गरिएको छ। बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चालु १५ औँ अधिवेशन बुधबार रातिबाट लागु हुने गरी अन्त्य गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा प्रदेश सभाको चालु १५ औँ अधिवेशन बुधबार रातिबाट अन्त्य गरिएको उल्लेख छ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत मानकुमारी तिमल्सिनाले जारी गर्नुभएको उक्त विज्ञप्तिमा प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु १५ औँ अधिवेशन चैत २० गते बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गर्नुभएको जनाइएको छ।
बागमती प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख देवकोटाबाट प्रदेश सभा अधिवेशन अन्त्य गरिएको पत्र प्राप्तभएको जनाएको छ। यसअघि बागमती प्रदेश सरकारले हिउँदे अधिवेशनको रूपमा रहेको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो।
प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
प्रदेश सभाको अधिवेशन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रदेश सरकारले अर्को अधिवेशन छिट्टै आह्वान गरी प्रिबजेट सम्बन्धी छलफल सुरु गर्ने तयारी गरेको मन्त्री लामिछानेको भनाइ छ। गत माघ १८ गतेबाट प्रदेश सभाको चालु अधिवेशन सुरुभएको थियो। बुधबार दिउँसो नै प्रदेश सभा सचिवालयले बुधबार दिउँसोलाई बोलाइएको प्रदेश सभाको बैठक विशेष कारणबश अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।