खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३ गते । मकवानपुरका विद्यालयहरूले वैशाख २ गतेदेखि गर्ने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित भएको छ ।
शिक्षक आन्दोलनका कारण वैशाख २ गतेदेखि जिल्लाका सामुदायिक विद्यालयहरुमा गर्ने भनिएको विद्यार्थी भर्ना अभियान सुरु हुनु सकेको छैन ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि विद्यालयमा भर्ना अभियानलगायतका कार्यक्रमहरू प्रभावित बनेको छ ।
नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईले सरकारले विद्यालय शिक्षा ऐनलगायतका मागहरु लामो समयदेखि पुरा नगरेकोले शिक्षकहरु काठमाडौँ केन्द्रित आन्दोलनमा जुटेकोले विद्यालय भर्ना अभियान प्रभावित बनेको बताउनुभयो । सरकारले सुनुवाई नगरेपछि अहिले काठमाडौँ केन्द्रितआन्दोलनमा सहभागी भएकोले विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि ठप्प भएको काठमाडौँमा आन्दोलनमा सहभागी हुँदै आउनुभएका उहाँले बताउनुभयो ।
विद्यालय शिक्षा ऐन मागगरेर सरकारसँग तीन पटक सम्झौता भए, गत माघ २० गतेबाट पालिकास्तर हुँदै काठमाडौँसम्म आएका छौ अध्यक्ष हुमागाईले भन्नुभयो, शालिनतापूर्वक लाखौ शिक्षक आन्दोलनमा सहभागी हुँदा समेत सरकारले सुनुवाई गरेन अहिले विद्यालयभर्ना अभियान सञ्चालन गर्नुपर्ने समयमा सरकारकै कारण विद्यालय भर्ना अभियान लगायतका सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प बनेको छ ।
उहाँले गत चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा राजधानीकेन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल चलिरहेकोले मंगलबारदेखि सुरु हुने भनिएको भर्ना अभियान स्थगितभएको बताउनुभयो । शिक्षकका पूरा नभए सम्मका लागि विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण शैक्षिक कार्यक्रमहरू नहुने उहाँका भनाई छ ।
जिल्लाका सबैजसो विद्यालयहरूका शिक्षक आन्दोलनमा सहभागी भएकोले विद्यालयहरुले भर्ना अभियान सञ्चालन गरेका छैनन् । देशभरबाट राजधानीकेन्द्रित शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् । सरकारसँग छलफल त चलिरहेको छ तर माग पूरा नभएसम्म आन्दोलन रोकिँदै अध्यक्ष हुमागाईँले भन्नुभयो, सहभागिता दैनिक बढ्दो छ, सरकारले सुनेको छैन, आन्दोलन थप चर्काउने छौँ । संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० विधेयकमा शिक्षण क्षेत्रमा रहेका विद्यमान समस्या समाधानको स्पष्ट व्यवस्था नगरिएको शिक्षक तथा विद्यालयका कर्मचारीहरुको वृत्ति विकासलाई वेवास्ता गरिएको, ट्रेड युनियन अधिकार कटौति गरिएको भन्दै आफ्ना माग सम्बोधन गरी यथाशीघ्र शिक्षा सम्बन्धी ऐन जारी गर्न दवाव दिन शिक्षक महासङ्घको आह्वानमा आन्दोलन जारी रहेको छ ।