विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नु पर्छ

लोकप्रिय

काठमाडौं, वैशाख १८ गते ।
पाटन, वैशाख १८ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आवद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताउनुभएको छ ।
कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपालीस् सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौँ, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँकहाँ कमजोरी छन्, कहाँकहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौँ, संविधान संशोधन गर्छौँ, समृद्ध बनाउँछौँ”, उहाँले भन्नुभयो ।
उपसभापति खड्काले जनसम्पर्क समितिमार्फत झुट्टा प्रचारप्रसार र प्रवृत्ति रोक्दै परिस्थितिको सामना गरी अगाडि बढ्न सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक पार्टीको प्रभाव नेपालभित्र मात्रै सीमित भएर नहुने भएकाले ठूलो सङ्ख्यामा नेपालीको बसोबास गर्ने ठाउँमा जनसम्पर्क समिति विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री रमेश लेखकले संविधानको भावनाअनुसार गैरआवासीय नेपाली नागरिकले अधिकार प्राप्त गर्ने गरी कानुन बनाइने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली नागरिकका लागि कानून बनाउन मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले एनआरएनएका लागि बेग्लै कानून बनाउने गरी मस्यौदा तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकलाई नकारात्मकतालाई प्रशय दिने काम नगर्न आग्रह गर्नुभयो । “हाम्रो गौरवशाली इतिहासको गलत व्याख्या नगरौँ, गैरआवासीय नेपालीका समस्या चाँडै समाधान गर्छौँ, जन्मिँदै नेपाली भएकाको पहिचान नेपाली नै हो, खुला सिमानाका कारण हामी केही कुरामा गम्भीर हुनुपर्ने अवस्था छ, सुरक्षाका कारणले केही समस्या छ, हामीले गैर आवासीयलाई समेटेर काम गर्छौँ”, उहाँले भन्नुभयो ।

ताजा समाचार

Related Articles