नारायणी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, साउन २८ गते ।
जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकोले देशभर वर्षा भईहेको जनाएको छ ।
महाशाखाका अनुसार गत २४ घण्टामा सुर्खेत, बर्दिया, सिन्धुली, लमजुङ र मकवानपुर जिल्लामा भारी वर्षा भएको छ ।
गत २४ घण्टामा सुर्खेतमा १४४, बर्दियामा २०७, सिन्धुलीमा १६१, लमजुङमा १४७ र मकवानपुरमा १६९ मिलिमिटर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच नारायणी नदी देवघाट जलमापन केन्द्रका अनुसार हाल जलसतह सतर्कता तह (७.३ मी.) पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेका भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन र नवलपरासीको नारायणी नदी तटिय क्षेत्रमा हुनेहरूले सोमबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।
यस्तै महाकाली नदीमा जलसतह बढ्दो छ र डडेलधुराको पारीगाँउ जलमापन केन्द्रमा बाढीले सतर्कता तह पार गर्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रहरूमा सोमबारसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
मस्र्याङ्दी नदी बिमलनगर केन्द्रको जलसतहले सतर्कता तह पार गरेको हुँदा नदी तटीय क्षेत्रहरूमा भोलिसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह (६ मी.) नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले सोमबार बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउन प्राधिकरण अनुरोध गरेको छ ।
उता बबई नदी चेपाङ केन्द्रमा ५.९ मि रहेको र स्थिर रहेको छ ।
भादा पुल केन्द्रमा ७.८ मि रहेको र बढ्दो रहेको; खतरा तह पुग्न सक्ने अनुमान गरिएको छ ।
बबई जलाधारमा सामान्य वर्षा भइरहेको छ ।
बाँकेको मानखोला बेलगाँउ केन्द्रमा जलसतहले सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेको छ । मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा सोमबार बिहानसम्म सतर्कता अपनाउन प्राधिकरणले नागरिकलाई आग्रह गरेको छ । साथै बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेको छ। बबई नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सोमबार बिहानसम्म सतर्कता अपनाउन भन्दै डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासको क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रंगुन लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले नदी तटीय क्षेत्रहरू तथा डुबान भईरहने होचा भूभागहरूमा सतर्कता प्राधिकरणले सर्वसाधारणलाई भनेको छ ।

ताजा समाचार

Related Articles