वडाध्यक्ष कोइरालाको प्रश्नः सिडियो कार्यालयमा कुर्सी राखेर काम गर्नुपर्ने अवस्था आएको हो ?

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ६ गते । हेटौँडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमणको घटना भएसँगै जनप्रतिनिधिहरुले मकवानपुरको सुरक्षा अवस्थामा बारे प्रश्न उठाउन थालेका छन् ।

अझ जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिकै रहेको वडा कार्यालयमा भएको घटनाका दोषीको पहिचान र पक्राउ घटनाभएको तीन दिनसम्म पनि नभएपछि जनप्रतिनिधिहरुले सुरक्षा व्यवस्थाका बारेमा चासो राखेका हुन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समक्ष हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका न्यौपानेमाथि भएको आक्रमणको घटनाको बारेमा ध्यानाकर्षण गराउन गएको नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका पदाधिकारीसहित हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले प्रजिअ श्रेष्ठलाई उक्त घटनामा संलग्न भएकाहरुलाई तत्काल नियन्त्रणमा लिन माग गर्नुभयो ।

जनप्रतिनिधिहरुले घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिन गरेको ढिलाई र शान्ति सुरक्षाको बारेमा प्रश्न उठाउनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जनप्रतिनिधि र व्यापारीमाथि आक्रमण गर्नेलाई नियन्त्रणमा लिन माग गर्दासमेत सुनुवाई नभएको भन्दै जिल्ला प्रहरी कार्यालयबाट ५० मिटरको दुरीमा रहेको वडा कार्यालयमा जनप्रतिनिधिमाथि आक्रमणको घटना हुँदासमेत दोषी पक्राउ गर्न नसक्नु लापरबाहीको परिणामभएको बताउनुभयो ।
दुर्गममा बसेर जनप्रतिनिधिले असुरक्षाकाबिच कसरी काम गर्ने उहाँले प्रजिअ श्रेष्ठलाई प्रश्न गर्नुभयो, के अब हामीले सिडियो कार्यालयमा कुर्सी राखेर काम गर्नुपर्ने अवस्था आएको हो ।
उहाँले अगाडि भन्नुभयो, कि असुरक्षा भएकोले वडा कार्यालय बन्द गरेर हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा कुर्सी राखेर काम गर्नु पर्ने हो ?
उहाँले दोहो¥याउनुभयो, कसरी काम गर्ने, सिडियो कार्यालयमा आएर बसेर काम गर्ने हो ?
जिल्ला प्रशासन कार्यालयमा हेटौँडा उपमहानगरपालिका ११ जना वडाध्यक्षसहित कार्यपालिका सदस्यहरु समस्या राख्न पुग्नुभएको थियो ।

यस्तै कांग्रेस हेटौँडा उपमहानगर सभापति उत्सव इटेनीले घटनाभएको तीन भईसक्दा समेत प्रहरीले दोषीको पहिचान र पक्राउ गर्न नसक्नु स्थानीय प्रहरी प्रशासनको कमजोरीका कारण भएको बताउनुभयो ।
स्थानीय प्रशासनको कमजोरी र अवस्थाको आकलन गर्न नसक्दा जनप्रतिनिधिमाथि आक्रमण भएको हो, सभापति इटेनीले भन्नुभयो, हेटौँडा सिमेण्टका उपकरण चोरीलगायतका आपराधिक घटना भएपनि कारबाही भएन, अपराध बढ्यो ।
केही दिनदेखि जग्गा विवाद भईरहेको थियो, प्रजिअकै कमजोरीका कारण जनप्रतिनिधिमाथि आक्रमण भएको कांग्रेस नगर सभापति इटेनीले आरोप लगाउनुभयो ।

हेटौँडा उपमहानगरपालिका १४ का वडाध्यक्ष दीपक खड्काले जनप्रतिनिधिमाथि सुरक्षा चुनौती बढेको बताउनुभयो ।
यसैगरी वडा नं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जने प्रजिअबाट स्थानीय तहका जनप्रतिनिधिले अपेक्षित सहयोग नपाएको भन्दै प्रक्रिया नपुगेका संस्थाको नवीकरण गरी बेथितिलाई प्रश्रय दिने काम गरिएको आरोप लगाउनुभयो ।

छलफलका क्रममा प्रजिअ श्रेष्ठले उक्त घटना हुनु र दोषीलाई पक्राउ गर्न ढिलाई हुनुमा मिलेमतो नरहेको स्पष्ट पार्नुभयो ।
जनप्रतिनिधिमाथिको आक्रमण राज्यमाथिको प्रहार हो प्रजिअ श्रेष्ठले भन्नुभयो, जनप्रतिनिधि माथिभएको आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएका छौ, हामी चुप लागेर बसेका छैनौ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले उक्त घटनाको दोषीको पहिचान र खोजी कार्य भईरहेको भन्दै सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles