हेटौँडा, जेठ ३१ गते । बागमती प्रदेशसभा बैठकमा प्रदेशसभाका छ वटा समितिका वार्षिक प्रतिवेदन पेस गरिएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा छ संसदीय समितिका सभापतिहरूले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिको कार्यसम्पादन र भावी योजनाबारे प्रतिवेदन र अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले विकास निर्माण र आर्थिक व्यवस्थापनका क्षेत्रमा समितिको अनुगमन र सुझावहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछानेले वार्षिक प्रतिवेदन पेस गर्दै बागमती प्रदेशमा बेरुजुको अवस्था अन्य प्रदेशको तुलनामा कम भए तापनि वित्तीय अनुशासन कायम गर्न अझै धेरै चुनौतीहरू रहेको बताउनुभयो । उहाँले अनुत्पादक खर्च, बजेट विनियोजनमा सुधार र सुशासनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले सरकारी अस्पतालहरूमा चिकित्सकको अभाव हटाउन प्रदेश सरकारले आफ्नै छात्रवृत्तिमा पढेका चिकित्सकहरूलाई अनिवार्य सेवामा खटाउनुपर्ने र कृषि क्षेत्रमा मलको अभाव अन्त्य गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेस गर्नुभयो ।
उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले उद्योग र पर्यटन क्षेत्रका नीतिहरूको प्रभावकारी कार्यान्वयन र वातावरण संरक्षणका लागि समिति खलेको भूमिका बारे र विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले तेस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभएको थियो ।




