हेटौँडा, जेठ ३१ गते । मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ मनहरी गाउँपालिका–६, कोलाघारी बस्ने ३९ वर्षीय मङ्गलबहादुर प्रजा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो ।

मनहरी–६ प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन घरमा ढोका जडान गर्ने क्रममा ढोकामा ड्रिल गरिरहेको अवस्थामा उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते हुनुभएका प्रजालाई उहाँकी श्रीमती रस्तिमाया प्रजाले उपचारका लागि मनहरी अस्पताल लग्नुभएको थियो ।

मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




