सरकारले सुशासनको अभियानबाट विश्राम लिँदैन
काठमाडौँ, भदौ १४ गते ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भनाइ राख्नुभयो ।
उहाँले समृद्धिको यात्रा अगाडि बढाउन सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प नरहेको जनाउनुभयो । “सरकारले सुशासनको अभियान छोड्ने छैन, विश्राम पनि लिँदैन”, उहाँले भन्नुभयो । सरकारले सुशासनको अभियानलाई सफल बनाएरै छाड्ने दाबी गर्नुभयो । सुशासन स्थापित गरेपछि मात्रै समृद्धिलाई तीव्रता बनाउन सकिन्छ भन्ने ध्येका साथ सरकार लागिपरेको उहाँको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गरेर मात्रै सुशासन स्थापित गर्न सकिन्छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको प्रमुख र साझा शत्रु भ्रष्टाचार भएको भन्दै यसको नियन्त्रण र सुशासन प्रवद्र्धन गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य एवं पूर्व पर्यटनराज्यमन्त्री याङ्कीला शेर्पाले पर्वतारोहीको जीविकोपार्जनका लागि कल्याणकारी कोषको व्यवस्था गर्न र पर्वतीय पर्यटनको दीर्घकालीन विकासमा ध्यान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सङ्घका अध्यक्ष निमानुरु शेर्पाले थप ७० वटा पिक आरोहणको व्यवस्थापनको जिम्मा सङ्घलाई दिन माग गर्नुभयो । उहाँका अनुसार नेपालमा आरोहणका लागि एक हजार सात सयभन्दा बढी हिमालमध्ये हाल चार सय १९ हिमालमा मात्रै आरोहण खुला गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र पर्यटनमन्त्री किरातीले सुदूरपश्चिमका हिमालको विवरण समेटिएको ‘सैपाल हिमाल’ नामक पुस्तकको लोकार्पण गर्नुभएको थियो । त्यसैगरी सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट १० कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।