हेटौँडा, मङ्सिर २१ गते ।
बागमती प्रदेश सरकारले प्रदेशको बहुवर्षीय आयोजनाहरूको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्री परिषद् बैठकले प्रदेश सरकारबाट सञ्चालन हुने बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड–२०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मन्त्री परिषद् बैठकले अधिकृतस्तर १० औँ तहका पाँच जनालाई अधिकृतस्तर ११ औँ तहमा बढुवा गरी नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
अधिकृतस्तर ११ औँ तहमा बढुवा हुनेमा प्रशासनतर्फका एक जना र स्वास्थ्यतर्फका चार जना रहेका छन् । प्रशासनतर्फ दीपेन्द्र सुवेदी तथा स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झालाई अधिकृत स्तर ११ औँ तहमा बढुवा गरी नियुक्ति गर्ने निर्णय गरिएको छ ।
अधिकृतस्तर ११ औँ तहमा बढुवासँगै पाँचै जनालाई पदस्थापन गर्ने तयारी गरिएको छ ।