हेटौँडा, माघ १९ गते ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरुभएको छ ।
बागमती प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीयको सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो ।
प्रख्यात वज्रबाराही मन्दिर (अजिमा) देखि पुरानो बाराही थान जान ८०५ वटा खुट्किलोसहितको सिंढी निर्माण गरिने छ ।
पर्यटकीय मार्ग निर्माणको शिलान्यास गर्दै थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाबाट सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो । उहाँले मार्ग अन्तर्गत बन्ने ८०५ खुट्किलोसहितको सिंढी निर्माणका लागि एक घर एक सिंढीको अवधारणासहित अभियान सुरु गरिएको बताउनुभयो ।
उहाँले सांस्कृतिक एवं धार्मिक सम्पदाहरुको सरसफाई एवं संरक्षणको अभियान स्थानीयको सहभागितामा सञ्चालन गर्दै आएको बताउँदै यसैक्रममा स्थानीयकै सहभागितामा सुरु गरिएको सिंढी निर्माण अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्यस्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचनाहरु बनाउने तयारी वडा कार्यालयको अगुवाईमा थालिएको हो ।
डिपिआरअनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही वनको टुप्पोमा अवस्थित पुरानो बाराही थानसम्म पुग्ने सिँढी निर्माणपछि मूर्ति प्रतिस्थापन गर्ने योजना रहेको छ ।
मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माणका लागि करिब दुई करोड रुपियाँ बराबरको लागत अनुमान गरिएको छ ।
सिंढी निर्माण र मार्गमा आठ हजार ४५० वर्गफिट भुईँ निर्माण कार्य प्रदेश सरकारको आठ लाख रुपियाँको लागतमा सुरु गरिएको छ ।
एउटा खुट्किलोको निर्माण सामग्री, ढुवानी खर्च, ज्यालालगायत गरी छ हजार रुपियाँ पर्ने अनुमान गरिएको वाराही पर्यटकीय मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
हाल मन्दिर फेदीमा रहेको र टुप्पोमा मन्दिर थियो भन्ने विश्वास र आस्थाका साथ पुज्ने गरिन्छ । हाल वज्रबाराही वनको फेदीमा रहेको वज्रबाराही मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा रहेको र गुडेर आएर अहिलेको अवस्थामा रहेको भन्ने किंवदन्ती रहेको पाइन्छ । मन्दिरमा हरेक तीन वर्षमा वैशाख चण्डी पूर्णिमा जात्रा लाग्ने गरेको छ ।
सिँढी निर्माणसँगै वाराही थान रहेको वनको टुप्पोमा वज्रवाराहीको मूर्ति राख्ने योजना रहेको स्थानीय प्रमोदकृष्ण जोशीले बताउनुभयो ।
यसअघि त्यसक्षेत्रका शक्ति पीठको रुपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिर परिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका वडा नं. ६ को कार्यालय, नेवा पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगमा करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।