काठमाडौँ,असार २८ गते ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, “ देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।”
उहाँले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पर्नुभयो ।
उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेतक लेखकले भन्नुभयो, “मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजनीतिक स्थिरता पहिलो आधार हो ।” उहाँले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताउनुभयो । वर्तमान सरकारले प्रचारको राजनीति बाहेक केही नगरेको आरोप लगाउँदै उहाँले सरकारका मन्त्रीहरूले ‘फाइल खोल्छौँ’ं, भन्ने र चर्चा कमाउने काम मात्र गरेको टिप्पणी गर्नुभयो ।
नेता लेखकले संविधान भनेको निरन्तर चलायमान हुने दस्ताबेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उहाँको टिप्पणी थियो ।
प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताउनुभयो । “यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रूपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्ताबेज होइन ।”
संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उहाँले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।
संविधानको दिगो पनका लागि बहुसङ्ख्यक जनताको अपनत्व र आत्मसात गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले यो छलफलका लागि सबैसँग छलफल गरेर अघि बढ्ने प्रणका साथ नेतृत्व लिन दुवै दलबीच सहमति भएको स्पष्ट पार्नुभयो ।