सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भयो

लोकप्रिय

काठमाडौँ, असार २८ गते ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै मुख्य सचेतक पाण्डेले उक्त दुई ठूला दलबीच भएको सहमति सार्वजनिक नहुँदा नागरिकमा अन्योलता उत्पन्न भएको बताउनुभयो ।
सुशासन कायम गर्ने, पुँजीगत खर्च वृद्धि र उत्पादन वृद्धिमा सरकारले पहल लिइरहेको उल्लेख गर्दै उहाँले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजिएको आरोप लगाउनुभयो ।

“पहिला नै भएको सहमति सार्वजनिक गर्नु पर्थ्यो, यसरी नेपाली जनतालाई झुक्याउन पाइँदैन, सत्ता साझेदारीसँगै संविधान संशोधनको विषय सार्वजनिक भएको छ । दुई दलबीच भएको भनिएको सम्झौता किन सार्वजनिक नगरेको ?”, सचेतक पाण्डेले प्रश्न गर्नुभयो । राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल हुनुपर्नेमा एक वा दुई दलले सत्ता साझेदारी गर्दैमा राष्ट्रिय सहमति हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

ताजा समाचार

Related Articles