खासकुरा संवाददाता
हेटौँडा, वैशाख २१ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बलेरो गाडी आइतबार पनि फेला पर्न सकेको छैन । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई शुक्रबार दिउँसोबाट जमिनमा भासिएर बेपत्ताभएको हो ।
भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि बोरिङ खनेको पानीसहितको खाल्डोमा बलेरो गाडी डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनास्थल पुग्नुभएका हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्थानीय प्रशासनसँगको समन्वयमा भूगर्भविद्धको सुझावको आधारमा आवश्यक कार्य अगाडि बढाइने बताउनुभएको छ ।
गाडी भासिएको नजिकै बोरिङ गरिएकोले उक्त घटना भएको अनुमान छ ।
गाडी भासिएको पाँच सेकेण्डमा नै बेपत्ता भएको थियो भने गाडी भासिएसँगै सडकमै दह बनेको छ ।
पानी कटान गरेर गाडी खोजी कार्य गरिएपनि अझै फेला परेको छैन । बलेरो चालक र सहचालक भने भासिनुअघि नै निस्किएर सकुशल रहेका छन् ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र स्थानीयले बोरिङ समेत गरेका कारण जमिन भासिन पुगेको जनाइएको छ ।




