हेटौँडा सिमेन्ट निजीकरणको विरोधमा माओवादी केन्द्र

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेलाई निजीकरण गर्न गरेको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्र मकवानपुर उत्रिएको छ ।
सरकारी स्वामित्वको सिमेण्ट उद्योग निजीकरणको विरोधमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौँडा बजारमा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
माओवादी केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमसहितको टोलीले मकवानपुरका प्रजिअ स्किम श्रेष्ठलाई ध्यानाकर्षण बुझाउँदै निजीकरण गर्ने सरकारको निर्णय स्वीकार्य नभएको र उक्त कार्य रोकिनुपर्ने जनाउनुभएको छ ।
यही वैशाख १५ गते बसेको मन्त्रीपरिषद् बैठकले हेटौँडा सिमेन्टलगायत केही सरकारी उद्योगहरू निजीकरण गर्ने निर्णय गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय सदस्य गौतमले यसले वर्तमान सरकार, जनता र राष्ट्रको हितमा भन्दा सीमित बिचौलियाको हितमा सक्रिय रहेको आरोप लगाउनुभयो ।
हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रूपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न ध्यानाकर्षणपत्रमार्फत माओवादी केन्द्रले माग गरेको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा हेटौँडा सिमेन्ट उद्योगको मूल्याङकन गरी गाभ्ने र निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिएको थियो ।
उद्योगका उत्पादन ठप्प प्रायः रहेको छ ।
प्रजिअमार्फत बुझाइएको ध्यानाकर्षणपत्रमा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलगायत केही सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णय गरेकोमा उक्त निर्णय अनुसार सरकारी उद्योगहरु निजीकरण नगर्न र बन्द अवस्थामा रहेका हेटौँडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको माग गरिएको छ ।
साथै निजी उद्योगहरुले एकतर्फीे सिमेन्टको मूल्य प्रति बोरा दुई सय रुपियाँभन्दा बढी बढाउँदा समेत सरकार मुकदर्शक बनेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ताजा समाचार

Related Articles